११. कर्तव्य (कथा)
शब्दभण्डार
१. दिइएका अर्थ आउने पद पदावली 'कर्तव्य' कथाबाट खोजेर लेख्नुहोस् :
(क) देह वा शरीरको अवसान वा अन्त्य : देहावसान
(ख) अड्डा वा कार्यालय रहेको भवन : अड्डाखाना
(ग) आवाज ननिकाली सासले मात्र अरूका कानमा भनिने गोप्य कुरो : कानेखुसी
(घ) विवाहमा बेहुलाका साथ बेहुलीको घर जाने व्यक्तिको समूह : बरियात
(ङ) गाउँलेको मुखिया वा जिम्मावाल : तालुकदार
(च) राम्रो काम गर्नेले पाउने इज्जत वा ख्याति : यश
२. दिइएका शब्द र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
ऋचा : कविताका रूपमा लेखिएका वेदका मन्त्र
मङ्गलधुन : शुभ लक्षणले युक्त लयात्मक ध्वनि
कुटुम्ब : इष्टमित्र, नातागोता, आफन्त
निरोपण : छानबिन, अन्वेषण
कोलाहल : अत्यासलाग्दो अवस्था, अत्तालिँदो होहल्ला
पितृ : मरेका आफ्ना पुर्खा
अनिष्ट : हानिकारक, अशुभ
३. दिइएको कथांशबाट उखान र टुक्का पहिचान गरी लेख्नुहोस् :
आँखामा राखे पनि नबिझाउनु, आफू भलो त जगतै भलो, एक कान दुई कान मैदान, चोरलाई चौतारो साधुलाई शुली, जिब्रो चिप्लो मन कालो, दश गाउँ फैलिनु, खुला किताब हुनु,
४. दिइएका उखान र टुक्कालाई अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :
उखान :-
हुने बिरुवाको चिल्लो पात :
सुलेमान शंकर सानैदेखि मिहिनेती र सिपालु छ । हुने बिरुवाको चिल्लो पात भनेको यही त हो।
धान खाने मुसो चोट पाउने भ्यागुतो :
गल्ती नगरेको भए पनि केही साथीहरूको गलत नियतका कारण शिक्षकले कमललाई सजाय दिनुभयो । यो त धान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तो भएन र !
खाने मुखलाई जुँगाले छेक्दैन :
कमजोर आर्थिक अवस्थाका बाबजुद जस्तोसुकै अप्ठ्यारो परिस्थितिको सामना गरेर भए पनि सपनाले एमबिबिएसमा निःशुल्क अध्ययनका लागि नाम निकाल्न सफल भइन । त्यसैले खाने मुखलाई जुँगाले छेक्दैन भनिएको हो ।
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन :
गुणस्तरीय सामान हुँदाहुँदै पनि रमेशको पसल खासै चल्दैन तर रमाको चलाखीपनले गर्दा पसलमा कम गुणस्तरीय सामान हुँदा पनि ग्राहकको भिड लाग्छ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानको आशय यही रहेछ ।
टुक्का :-
माया मार्नु :
भौतिक सुविधाका लागि मात्र विदेश गएर स्वदेशको माया मार्नु त भएन नि !
कम्मर कस्नु :
सबै जना कम्मर कसेर लाग्ने हो भने समाज सुधार गर्न समय लाग्दैन ।
कानमा तेल हाल्नु :
जतिसुकै बेथिति देख्दा पनि कानमा तेल हालेर बस्ने जनता भएपछि देश बन्दैन ।
सुइँकुच्चा ठोक्नु :
बाघलाई देखेपछि स्यालहरू सुइँकुच्चा ठोक्नु सामान्य कुरा हो ।
आगो हुनु :
देशको सार्वभौमसत्ताप्रति कसैले धावा बोले नेपालीहरू आगो हुन्छन् ।
चिसो पस्नु :
आजभोलि श्रीमानको गतिविधिप्रति रमालाई मनमा चिसो पस्न थालेको छ ।
बोध तथा अभिव्यक्ति
१. दिइएका शब्दको लेखाइ र उच्चारणमा पाइने भिन्नता पहिचान गर्नुहोस् :
शब्द उच्चारण
शीर्षक - सिसक्
अन्याय - अन्न्याय
ऊन - उन्
सञ्चार - सन्चार्
रक्षा - रक्छ्या
सञ्चार - सन्चार्
रक्षा - रक्छ्या
भण्डार - भन्डार्
ऋषि - रिसि
२. 'कर्तव्य' कथाबाट लेखाइ र उच्चारण भिन्न हुने १० ओटा शब्द टिपोट गरी शुद्ध उच्चारण गर्नुहोस् ।
शब्द उच्चारण
लगालग : लगालग्
आफू : आफु
सुत्केरी : सुत्केर
जीवनकाल : जिबनकाल्
शासनकाल : सासन्काल्
मुरलीधर : मुरलिधर्
विकास : बिकास्
जिउनी : जिउनि
निर्णय : निर्नय
अधिवेशन : अधिबेसन्
३. 'कर्तव्य' कथा पालैपालो सस्वरवाचन गर्नुहोस् ।
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) 'कर्तव्य' कथाको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
उत्तर : 'कर्तव्य' कथाको सुरु गङ्गाधरको देहावसानबाट र अन्त्य मुरलीधरले भाइलाई उपचार गर्न विदेश लगेको घटनाबाट भएको छ ।
(ख) कथामा कति जना पात्र छन्, तिनको नाम भन्नुहोस् ।
उत्तर : कथामा गङ्गाधर, मुरलीधर, श्रीधर, कमला, श्रीधरको छोरो शशीधर, दुलही, दुलहीका बाबु, ठिटाहरू, बुढापाकाहरू, कन्या पक्षका बुढापाकाहरू, श्रीधरकी छोरी रमा ।
(ग) कथामा ग्रामीण समाजको परिवेश झल्काउने तथ्य के के हुन् ?
उत्तर : कथामा ग्रामीण समाजको परिवेश झल्काउने तथ्य गाउँका तालुकदार, ग्रामपिता, न्याय अन्यायको छलफलका लागि तालुकदारको आँगनमा जम्मा भई छलफल गर्नु, पँधेरा, चौतारा, औषधी उपचारका लागि देशतिर लाग्नु आदि हुन् ।
(घ) कथामा प्रथम वा तृतीय पुरुषमध्ये कुन दृष्टिबिन्दु प्रयोग भएको छ ?
उत्तर : कथामा तृतीय पुरुष दृष्टिबिन्दु प्रयोग भएको छ ।
५. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) कथांशका आधारमा वक्ताको चरित्र चित्रण गर्नुहोस् ।
उत्तर : कथांशमा वक्ता कर्तव्यनिष्ठ र बाबुबाजेको इज्जतप्रति निकै चिन्तित रहने चरित्रको रहेका छन् । विवाह घरगृहस्थीको ठुलो काम भएको र त्यसमा पनि कुलको जेठो सन्तानको विवाह भएकाले बाबुबाजेको मानमर्यादा डुब्न दिनुहुँदैन भन्ने कथांशको वक्ताको भनाइ रहेको छ । बेहुलाको बाबु बिरामी परेको जन्तीमा अल्लारे र आलाकाँचा ठिटा मात्र भएकाले आफूले कर्तव्य बिर्सनु नहुने कुरा वक्ताले व्यक्त गरेका छन् । वक्ताले समय र परस्थितिलाई निकै नजिकबाट नियालेका छन् । यसबाट कथांशको वक्ता कर्तव्यनिष्ठ, बाबुबाजेको मानमर्यादाप्रति चिन्तित, सकारात्मक सोच र व्यवहार भएको, समयमा विवेकले काम गर्ने चरित्रका रूपमा रहेका छन् ।
(ख) कथांशमा 'बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो' भन्नुको आशय खुलाउनुहोस् ।
उत्तर : बाजुबाजेले निकै मिहिनेत गरेर आफ्नो कुलपरम्परालाई निरन्तरता दिएका हुन्छन् । बाबुबाजेले देखाएको असल बाटोमा हरेक सन्तानले पाइला चाल्नुपर्छ । पुर्खाको मानमर्यादा राख्नु भनेको आफ्नो पनि मानमर्यादा बढाउनु हो । आधुनिकतालाई अँगाल्नु समयको माग भए पनि आधुनिकताका नाममा हाम्रा मौलिक परम्परा मासिन दिनु हुँदैन । कर्तव्य र मौलिक परम्परा भुल्नाले बाबुबाजे अर्थात् पुर्खाको मानमर्यादामा आँच आउन लाग्यो भन्ने आशय 'बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो' भन्ने भनाइमा रहेको छ ।
६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
(क) कथांशमा 'म' पात्रले पश्चाताप गर्नुको कारण के हो ?
उत्तर : कथांशमा 'म' पात्रले पश्चाताप गर्नुको कारण दाजुप्रति धेरै अत्याचार गरेर अपराध गरेकाले हो ।
(ख) मुरलीधरले भाइप्रति कस्तो व्यवहार देखाए ?
उत्तर : मुरलीधरले बर्र आँसु झारे अनि भाइको शारीरिक अवस्था देखेर अत्तालिए । यसरी उनले भाइप्रति सहानुभूतिजन्य र आत्मीय व्यवहार देखाए ।
(ग) सिकिस्त भएपछि मात्र उपचार गर्न लानु ठिक हो, तर्क दिनुहोस् ।
उत्तर : सिकिस्त भएपछि मात्र उपचार गर्न लानु ठिक होइन । सामान्य बिरामी भएको अवस्थामा नै रोगको निदान खोज्नु बुद्धिमानी हुन्छ ।
(घ) 'हृदयमा दुःखको कोलाहल मच्चिनु' को आशय खुलाउनुहोस् ।
उत्तर : 'हृदयमा दुःखको कोलाहल मच्चिनु' को आशय भाइ सिकिस्त भएको र उनको शारीरिक गति पनि थाहा भएपछि मुरलीधरको मन भाइको अवस्थालाई लिएर साह्रै अत्तालिएको भन्ने हो ।
७. 'कर्तव्य' कथा पढी दिइएका संवाद कसले कसलाई भनेका हुन् ? भन्नुहोस् :
(क) मेरा दुवै छोरा बराबर हुन्, आधा आधा बाँडेर खानू।
- गङ्गाधरले आफ्ना छोरा र बुढापाकासँग
(ख) त्यस महाआत्माका अन्तिम आज्ञा श्रीधरले मान्नैपर्छ।
- बुढापाकाहरूले भेलामा ठिटाहरूलाई
(ग) कसैको मरण होस् त यसप्रकारको होस् ।
- मानिसहरूले
(घ) त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छोड्थे ।
- कन्यापक्षका बुढापाकाले एकअर्कासँग
(ङ) लौ, घर लगेर भित्र्याऊ ।
- मुरलीधरले ठिटाहरूलाई
(च) दाज्यूलाई खानपिन त राम्ररी गरायौ के ?
- श्रीधरले ठिटाहरूलाई
(छ) खै, सम्धी पाल्नुभएको छैन, अब मण्डपमा आएर बसिदिनुभएहुन्थ्यो ।
- दुलहीका बाबुले जन्ती पक्षलाई
(ज) यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला ।
- श्रीधरले दाजु मुरलीधरलाई
८. 'कर्तव्य' कथाका मुख्य मुख्य घटना क्रमबद्ध रूपमा टिपोट गरी कथासार तयार गर्नुहोस् ।
उत्तर :
'कर्तव्य' कथाको कथासार
लगालग नौ दिनको ज्वरोले गर्दा गाउँका महान् पुरुष मुखिया गङ्गाधरको मृत्यु भयो । ग्रामपिताका रूपमा रहेका गङ्गाधरको देहावसानले दश गाउँमा अपार क्षति पुगेको महसुस गरी सबै डाँको छोडेर रोए । मलामीको लर्को देखेर मानिसहरूले 'कसैको मरण होस् त यस किसिमको होस्' भने ।
जेठा मुरलीधर र कान्छा श्रीधर गङ्गाधरका दुई भाइ छोरा थिए । जेठा 'मुरली पण्डित' का रूपमा जिल्लाभरि विख्यात थिए । उनी धार्मिक प्रवृत्तिका थिए । कान्छा 'शर्माजी' का रूपमा जिल्लाभरि प्रख्यात थिए र राजनीतिज्ञका रूपमा आफूलाई प्रगतिवादी सम्झन्थे । बाबुको मृत्युपछि जिउनी खेतको विषयलाई लिएर दुई दाजुभाइका बिचमा विवाद उत्पन्न भयो । न्याय अन्यायको निरोपण गर्ने त्यस आँगनमा विवाद मिल्न नसकेपछि मुरलीधरले बाबुको अन्तिम आज्ञाको पालना गर्दै अदालतमा नालिस दिए । अदालतले कानुनको पक्ष लिने हुँदा मुरलीधरले मुद्दा हार्न पुगे । यता केही महिनादेखि श्रीधर बिरामी पर्छन् । उता उनको छोरा शशीधरलाई एक्ली छोरीमात्र भएको धनीमानी कुटुम्बले विवाहको प्रस्ताव गर्छन् साथै विवाहको टुङ्गो पनि लाग्छ । विवाहमा सबैलाई बोलाएको भए पनि श्रीधरले आफ्नै सहोदर दाजुभाउजूलाई बोलाउँदैनन् । श्रीधर बिरामी भएका र बरियातमा ठिटाहरू मात्र देखेर कुलघरानको इज्जतका लागि मुरलीधर नबोलाए पनि बरियात जान लाग्छन् । श्रीमती कमलाले मुरलीधरलाई रोक्न खोजे पनि मानिस ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्ने कुरा उनले श्रीमतीसँग गर्छन् । विवाहमण्डपमा विवाहको विधि प्रारम्भ भएपछि सम्धी खोज्दा मुरलीधर उपस्थित हुन्छन् र विवाहको विधि सम्पन्न गर्छन् । कन्यापक्षका बुढापाकाहरूले मुरलीधरको कर्तव्यको खुलेर प्रशंसा गर्छन् ।
दुलही भित्र्याएपछि दाजुले निर्वाह गरेको कर्तव्यका बारेमा श्रीधरले थाहा पाउँछन् र गहभरि आँसु झार्छन् । केही समयपछि दुई दाजुभाइका बिचमा पुनर्मिलन हुन्छ । त्यसको छसात दिनपछि भाइलाई लिएर मुरलीधर औषधी गराउन देशतिर हिँडे भन्ने सुनिन्छ ।
९. दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) 'कर्तव्य' कथाका मुरलीधर र श्रीधरका चारित्रिक विशेषता लेख्नुहोस् ।
उत्तर : 'कर्तव्य' कथामा मुरलीधर र श्रीधर मुख्य पात्र हुन् । मुरलीधर कथाको आदर्श पात्रका रूपमा रहेका छन् । कथाको मुख्य पात्र मुरलीधर गङ्गाधरका जेठा छोरा हुन् । उनी 'मुरली पण्डित' का रूपमा जिल्लाभरि विख्यात थिए । यिनी पिताले झैँ अरूलाई सताउनु महापाप सम्झन्थे । धार्मिक प्रवृत्तिका सच्चा ब्राह्मण थिए । कथाको आदर्श, सच्चरित्र, आदर्श पिताका आदर्श पुत्र र अनुकरणीय पात्रका रूपमा यिनीलाई लिन सकिन्छ । अर्का प्रमुख पात्र श्रीधर जिल्लाभरि 'शर्माजी' का नामले परिचित थिए । अङ्ग्रेजी पढेका, लामो बुलबुल पालेका र आफूलाई प्रगतिवादी सम्झने स्वभावका थिए । उनी राजनीतिक पार्टीका सदस्य र ग्राम विकासका प्रधान थिए । पूजापाठ गर्नु, चन्दन लगाउनुलाई दासत्वको चिह्न हो भन्थे । आदर्श र महान् पिताले मर्ने वेलामा जिउनी खेत दुवैले आधा आधा बाँडेर खानु भनेको कुरालाई मतलब नगरी दाजुसँग झगडा गर्ने र कर्तव्य नसम्झने पात्रका रूपमा श्रीधरलाई लिइएको छ । अन्तिममा भने श्रीधरलाई आफ्नो कमजोरी महसुस गरी सुधार गर्ने परिवर्तनशील पात्रका रूपमा समेत प्रस्तुत गरिएको छ ।
(ख) कथामा दाजुभाइबिचको सम्बन्धलाई कुन रूपमा देखाइएको छ ? लेख्नुहोस् ।
उत्तर : 'कर्तव्य' कथामा कथाकारले हाम्रो समाजमा दाजुभाइका बिचमा अंशबण्डाको विषयलाई लिएर हुने मनमुटाव र झगडालाई प्रस्तुत गरेका छन् । कथामा दुई दाजुभाइ मुरलीधर र श्रीधरका माध्यमबाट यस कुरालाई प्रस्तुत गरिएको छ । दाजुभाइबिचको झगडाले उग्र रूप लिएर बोलचाल र आवतजावतसमेत बन्द हुन्छ अर्थात् पानी बाराबारको अवस्था हुन्छ । जब कर्तव्य पालना गर्नुपर्ने अवस्था आउँछ तब दाजु मुरलीधर सफा मनले कर्तव्य निभाउँछन् । यसबाट भाइ श्रीधर पनि प्रभावित हुन्छन् र आफ्नो गल्ती महसुस गर्न पुग्छन् । कथाको अन्त्यतिर दाजुभाइको पुनर्मिलन र औषधी उपचार गराउन गएको प्रसङ्गका माध्यमबाट भातृप्रेम देखाइएको छ । यसरी कथामा दाजुभाइबिचको सम्बन्ध सुमधुर, प्रगाढ, निस्वार्थ र आत्मीय हुनुपर्ने कुरा देखाइएको छ ।
(ग) मुरलीधर र श्रीधरको विवाद नभएको र सम्बन्ध नबिग्रेको भए के हुन्थ्यो होला ? अनुमान गर्नुहोस् ।
उत्तर : मुरलीधर र श्रीधरको विवाद नभएको र सम्बन्ध नबिग्रेको भए उनीहरू आदर्श पिताका आदर्श पुत्रका रूपमा रहन्थे । श्रीधर दाजु मुरलीधरलाई पिता समान मानेर अभिभावकका रूपमा लिन्थे । दाजुको सल्लाहबमोजिम नै सबै कामहरू गर्थे । दुवै दाजुभाइ मिलेर गाउँलेहरूलाई आफ्ना पिताले झैँ हरेक सुखदुःखमा सरसहयोग गर्थे । उक्त गाउँलाई दुवै दाजुभाइ मिलेर नमुना बनाउँथे । दाजुभाइ होस् त श्रीधर र मुरलीधर जस्ता होस् भन्ने कुरा सबैतिर फैलिन्थ्यो ।
(घ) 'कर्तव्य' कथाको सन्देश के हो ?
उत्तर : 'कर्तव्य' कथामा प्रस्तुत गरिएको दाजुभाइका बिचको झगडा र बोलचाल बन्दसम्मको अवस्था यथार्थ पक्ष हो भने मुरलीधरको कर्तव्य पालना आदर्श पक्ष हो । कथाको अन्त्यतिर दाजुभाइको पुनर्मिलन र औषधी उपचार गराउन गएको प्रसङ्गका माध्यमबाट भातृप्रेमसमेत देखाइएको छ । सामाजिक आदर्शोन्मुख यथार्थवादी कथा 'कर्तव्य' ले दाजुभाइका बिचमा सानोतिनो कुराले मनमुटाब भयो भन्दैमा आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छिनुहुँदैन । आफूले राम्रो गरेपछि अर्काको मनमा पनि सकारात्मक परिवर्तन आउन सक्छ भन्ने सन्देश दिएको छ । यसका साथै सम्पत्तिभन्दा मानवीय सम्बन्ध ठुलो कुरा भएकाले यसलाई जोगाउन समाजका हरेक सदस्यले त्याग गर्न सक्नुपर्छ भन्ने सन्देश पनि कथाले दिएको छ ।
१०. 'कर्तव्य' कथाको पहिलो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।
११. व्याख्या गर्नुहोस् :
(क) उनको देहावसानले न्यायको बत्ती निभ्यो, अनाथअशक्तको आशास्तम्भ ढल्यो, गाउँका 'धन्वन्तरि' अस्ताए ।
प्रस्तुत कथांश 'कर्तव्य' कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार गुरुप्रसाद मैनाली (वि.सं.१९५७-२०२८) हुन् । मैनाली नेपाली कथा साहित्यका पहिलो आधुनिक कथाकार हुन् । सामाजिक विषयवस्तुमा आधारित आदर्शोन्मुख यथार्थवादी कथाकारका रूपमा परिचित मैनालीको 'नासो' कथासङ्ग्रह प्रकाशित छ । माथिको कथांश ग्रामपिताका रूपमा परिचित गङ्गाधरको मृत्युले गाउँमा भएको अपूरणीय क्षति भएको सन्दर्भ चर्चा गर्ने क्रममा आएको छ । गङ्गाधर गाउँका तालुकदार भए पनि 'मुखिया बा' को रूपमा परिचित थिए । उनी बाँचुन्जेल कसैले पनि अन्यायमा मर्नुपरेन, भोकै बस्नु परेन । उनी गाउँका बालबालिकदेखि वृद्धवृद्धासम्म सबैका प्रिय व्यक्ति थिए । उनलाई ग्रामपिता भन्नु उपयुक्त थियो । यस्ता महापुरुषको देहावसानले गाउँमा अपार क्षति भयो । भोकानाङ्गा र दुःखीदरिद्रीहरूले बाबु मरेको महसुस गरे । बुढाबुढी र असहायले आफ्नो टेक्ने लौरो भाँचिएको ठाने । अनाथ र अशक्तको आशास्तम्भ ढलेको थियो । अन्यायमा परेकाहरूको लागि उनी न्याय थिए । उनीहरूले न्यायको बत्ती निभेको ठाने । उनी गाउँका सबै समस्याको निदान थिए । त्यो निदान अर्थात् धन्वन्तरि सदाका लागि अस्ताए । उनको देहावसानमा दश गाउँका दुनियाँ डाँको छाडेर रोए ।
बाँचुन्जेल सबैको प्रिय भएका गङ्गाधरको मृत्युले सबैलाई अपूरणीय क्षति भयो, सबैलाई रुवायो । असल कर्मको फल मिठो हुन्छ। बाँचुन्जेल मात्र होइन मृत्युपछि पनि मानिसले स्मरण गरिरहन्छ भन्ने कुरा माथिको कथांशमा स्पष्ट पार्न खोजिएको छ। साथै राम्रो कर्म गर्न सके सबैको प्रिय बन्न सकिने सन्देश पनि कथांशले दिएको छ।
(ख) कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ ।
प्रस्तुत कथांश 'कर्तव्य' कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार गुरुप्रसाद मैनाली (वि.सं.१९५७-२०२८) हुन् । मैनाली नेपाली कथा साहित्यका पहिलो आधुनिक कथाकार हुन् । सामाजिक विषयवस्तुमा आधारित आदर्शोन्मुख यथार्थवादी कथा लेख्ने कथाकारका रूपमा परिचित मैनालीको 'नासो' कथासङ्ग्रह प्रकाशित छ । माथिको कथांश मुरलीधरले कर्तव्य पालनको सिलसिलामा श्रीमती कमलालाई सम्झाउने क्रममा भनेका हुन् ।
दाजुभाइको झगडा भएपछि बोलचालसमेत बन्द भएको हुन्छ । श्रीधरको छोरा शशीधरको विवाहमा सबैलाई बोलाइएको भए पनि आफ्नै सहोदर दाजुलाई बोलाइएको हुँदैन । बरियात हिँड्न लाग्दा मुरलीधरले सबै अल्लारे ठिटा मात्र देखे । भाइ श्रीधर बिरामी भएर जान सक्ने अवस्थामा थिएन । कन्याको घरमा पुग्दा अभिभावक बनेर काम गर्ने व्यक्ति नदेखेपछि मुरलीधर बाबुबाजेको इज्जत राख्नका लागि आफू बरियात जानुपर्ने कर्तव्य ठानी जान तयार हुन्छन् । उनकी श्रीमती कमलाले भने नबोलाएको ठाउँमा त कुकुर पनि नजाने भएकाले जान नदिने कुरा गर्छिन् । मुरलीधर श्रीमतीलाई सम्झाउँदै कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ । मानिस कुकुर होइन, ज्ञानवान् हो । तसर्थ मानिस चाहिँ बखतमौका विचार गरेर नबोलाए पनि आफैँ जानुपर्छ भनी सम्झाउँछन् । बाबुबाजेको इज्जत राख्नका लागि कर्तव्य निर्वाह गर्नुपर्ने अवस्थाबाट पछि हट्न हुँदैन भनी उनी श्रीमतीलाई सम्झाउँदै बरियात जान्छन् ।
यसर्थ मानिस ज्ञानवान् भएकाले बखतमौका विचार गरेर निर्णय लिनुपर्छ । कर्तव्य पालन गर्नु हामी सबैका लागि हितकर हुन्छ । सकारात्मक सोचले नातासम्बन्ध बलियो बनाउन सकिन्छ भन्ने कुरा माथिको कथांशमा स्पष्ट पारिएको छ ।
१२. 'कर्तव्य' कथामा श्रीधर र मुरलीधरमध्ये तपाईं कसको पक्ष लिनुहुन्थ्यो ? किन ?
उत्तर : 'कर्तव्य' कथा गुरुप्रसाद मैनाली (वि.सं. १९५७ - २०२८) द्वारा रचिएको सामाजिक विषयवस्तुमा आधारित आदर्शोन्मुख यथार्थवादी कथा हो । यस कथामा मुरलीधर र श्रीधरका माध्यमबाट नेपाली समाजमा दाजुभाइका बिचमा हुने अंशबण्डासम्बन्धी झगडा र कर्तव्यपालनको सन्दर्भलाई मुख्य विषयवस्तु बनाइएको छ । यस कथामा श्रीधर र मुरलीधरमध्ये म मुरलीधरको पक्ष लिन्थेँ ।
मुरलीधर धार्मिक व्यक्तित्व हुन् । उनमा असल स्वभाव र व्यवहार रहेको छ । कसैको पनि कुभलो नचिताउने व्यक्तिका रूपमा उनी रहेका छन् । भाइसँग पनि उनी जिउनी लिँदैनथे । महान् व्यक्तित्वका रूपमा रहेका पिताले मर्ने वेलामा बाँडेर खानु भनेकाले मात्र उनी बाबुको आज्ञा पालन गर्नका लागि उक्त जिउनी खेत आधा पाउनुपर्छ भनी अदालतसम्म पुगेका हुन् । उनमा खराब नियत भएको भए त उनी विवाहमा कर्तव्य पालन गर्न भनेर जाँदैनथे । तसर्थ म 'कर्तव्य' कथामा श्रीधर र मुरलीधरमध्ये मुरलीधरको पक्ष लिन्थेँ ।
१३. 'कर्तव्य' कथामा नेपाली समाजको वास्तविकता कसरी दर्शाइएको छ ? विवेचना गर्नुहोस् ।
उत्तर : गुरुप्रसाद मैनाली (वि.सं. १९५७- २०२८) द्वारा रचिएको 'कर्तव्य' कथा सामाजिक विषयवस्तुमा आधारित आदर्शोन्मुख यथार्थवादी कथा हो । मैनाली नेपाली कथा साहित्यका पहिलो आधुनिक कथाकार हुन् । सामाजिक विषयवस्तुमा आधारित आदर्शोन्मुख यथार्थवादी कथा लेख्ने कथाकारका रूपमा परिचित मैनालीको ‘नासो’ कथासङ्ग्रह प्रकाशित छ । यस कथामा मुरलीधर र श्रीधरका माध्यमबाट नेपाली समाजमा दाजुभाइका बिचमा हुने मनमुटाव र झगडा तथा कर्तव्यपालनको सन्दर्भलाई मुख्य विषयवस्तु बनाएर नेपाली समाजको वास्तविकता दर्साइएको छ ।
कथाको प्रारम्भमा गङ्गाधर जस्ता महान् व्यक्तित्वको सत्कर्मको चर्चा गर्दै समाजसेवा नेपाली समाजको मुख्य पक्ष भएको चर्चा गरिएको छ । मरेपछि मलामी पनि चाहिन्छ र यसका लागि समाज र जनताका लागि केही गर्नुपर्छ भन्ने नेपाली समाजको वास्तविकता कथामा सरल र निकै मार्मिक ढङ्गबाट दर्साइएको छ । जिउनीको विषयलाई लिएर मुरलीधर र श्रीधरका बिचमा मनमुटाब हुन्छ । झगडा अदालतसम्म पुग्छ । अदालतले श्रीधरका पक्षमा फैसला सुनाउँछ । छोराको विवाहमा श्रीधरले सहोदर दाजुभाउजूलाई बोलाउँदैनन् तर मुरलीधरले कर्तव्य पालना गर्नुपर्ने अवस्था आउँछ । मुरलीधर आफ्नो कर्तव्यबाट विमुख बन्दैनन् । विवाहमा गएर आफ्नो कर्तव्य निर्वाह गर्दछन् । श्रीधरले यो कुरा थाहा पाएपछि उनलाई पनि आफ्नो गल्तीको महसुस हुन्छ । त्यसपछि दुई दाजुभाइका बिचमा पुनर्मिलन हुन्छ ।
दाजुभाइका बिचको झगडा र बोलचाल बन्दसम्मको अवस्था हाम्रो समाजको वास्तविकता हो । मुरलीधरको कर्तव्यपालनाले हाम्रो समाजको अभिभावकीय वास्तविकतालाई स्पष्ट पारेको छ । कथाको अन्त्यतिर दाजुभाइको पुनर्मिलन र औषधी उपचार गराउन लगेको प्रसङ्गका माध्यमबाट भातृप्रेमसमेत देखाइएको छ । सम्पत्तिभन्दा मानवीय सम्बन्ध ठुलो कुरा भएकाले यसलाई जोगाउन समाजका हरेक सदस्यले त्याग गर्न सक्नुपर्छ भन्ने वास्तविकतालाई पनि कथाले निकै जोड दिएको छ ।
यसरी सामाजिक विषयवस्तुमा आधारित 'कर्तव्य' कथाले श्रीधर र मुरलीधरका माध्यमबाट दाजुभाइका बिचमा हुने मनमुटाव र भैझगडासम्बन्धी वास्तविकता दर्साएको छ । यसका साथै धनसम्पत्तिभन्दा नातासम्बन्ध ठुलो भएको यथार्थ पनि प्रस्तुत गरेको छ ।
१४. तपाईंलाई 'कर्तव्य' कथामा व्यक्त कुन कुन कुरा मन पर्यो ? मन पर्नुका कारणसहित आफ्नो प्रतिक्रिया दिनुहोस् ।
उत्तर : 'कर्तव्य' कथा गुरुप्रसाद मैनाली (वि.सं. १९५७ - २०२८) द्वारा रचिएको सामाजिक विषयवस्तुमा आधारित आदर्शोन्मुख यथार्थवादी कथा हो । यस कथामा मुरलीधर र श्रीधरका माध्यमबाट नेपाली समाजमा दाजुभाइका बिचमा हुने अंशबण्डासम्बन्धी झगडा र कर्तव्यपालनको सन्दर्भलाई मुख्य विषयवस्तु बनाइएको छ । मलाई यस कथामा गङ्गाधरको व्यक्तित्व, मुरलीधरको कर्तव्य पालना र श्रीधरको सोचमा आएको परिवर्तन मन पर्यो । गङ्गाधर गाउँका तालुकदार व्यक्ति थिए । यसका साथै धनी र सम्पन्न पनि थिए । उनी सधैं जनताको दुःखसुखमा रहेर काम गरे । कसैलाई पनि अन्यायमा पर्न दिएनन् अनि भोकै मर्न दिएनन् । गाउँलेहरूले पनि उनलाई पिताका रूपमा सम्मान गरे । उनको व्यक्तित्व अनुकरणीय र आदर्श रहेको छ । त्यस्तै मुरलीधरले बखतमौका विचार गरेर आफ्नो कर्तव्य निर्वाह गरे । एउटा असल अभिभावकको परिचय दिए । बाबुले मर्ने वेलामा दिएको वचन पूरा नगर्ने र दाजुलाई अभिभावकका रूपमा नस्विकार्ने श्रीधर पनि दाजुको कर्तव्य पालना थाहा पाएपछि परिवर्तन भए, दाजुसँग माफी मागे र अभिभावकका रूपमा स्वीकारे । तसर्थ मलाई 'कर्तव्य' कथामा गङ्गाधरको व्यक्तित्व, मुरलीधरको कर्तव्य पालना र श्रीधरको सोचमा आएको परिवर्तन मन परेको हो ।
१५. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क)
(अ) मातृभाषालाई राज्यको पहल तथा उक्त भाषाका वक्तामा भाषाप्रतिको सचेतता र प्रयोग गर्ने इच्छाशक्ति अभिवृद्धि गरेर जोगाउन सकिन्छ ।
(आ) भाषा लोप हुनाको कारण मातृभाषी वक्ताले आफ्नो भाषा बोल्न छोडेर अर्को भाषा बोल्दै जानु हो ।
(इ) भाषालाई चिरकालसम्म जीवन्त राख्न र समृद्ध बनाउन भाषाको प्रयोग विस्तार, शब्दकोश तथा व्याकरण निर्माण र साहित्य सिर्जना गर्नुपर्छ ।
(ई) बालबालिकालाई मातृभाषामा प्रारम्भिक शिक्षा दिनु बढी प्रभावकारी र स्थायी हुन्छ किनभने यसले भाषालाई जीवित राख्न र समृद्ध बनाउन सहयोग गर्छ ।
(ख)
(अ) अनुच्छेदमा रहेको 'नासिन्छ' क्रियापदको नामधातु 'नासि' हो ।
(आ) 'भाषालाई चिरकालसम्म जीवन्त राख्न र समृद्ध बनाउन त्यस भाषामा साहित्य सिर्जना पनि गर्नुपर्छ ।' वाक्यलाई प्रेरणार्थक बनाउँदा 'सरकारले भाषालाई चिरकालसम्म जीवन्त राख्न र समृद्ध बनाउन त्यस भाषामा साहित्य सिर्जना पनि गराउनुपर्छ ।'
(इ) ॠ प्रयोग भएको समृद्ध, रि प्रयोग भएको : प्रभावकारी ।