सामाजिकीकरण(socialization) | class 10 social chapter 1 lesson 1 exercise socialization सामाजिकीकरण exercise

0

  

पाठ १ : सामाजिकीकरण
 
 
१. सामाजिकीकरण भनेको के हो ?
 
उत्तर : कुनै पनि व्यक्ति जन्मेपछि ऊ जैविक प्राणीका रूपमा मात्र रहेको हुन्छ । उसलाई सामाजिक व्यक्तिका रूपमा रूपान्तरण गर्नका लागि अवलम्बन गरिने आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया नै सामाजिकीकरण हो । सामाजिक मूल्य मान्यता, सिद्धान्त, आदर्श, व्यवहारलगायतका कुरा ग्रहण गर्दै समाजमा अन्तरघुलन हुने र एउटा व्यक्तिबाट सामाजिक प्राणी बन्ने बनाउने सम्पूर्ण प्रक्रिया नै सामाजिकीकरण हो ।
 
 
२. सामाजिकीकरणको महत्त्व उल्लेख गर्नुहोस् ।
 
उत्तर : सामाजिकीकरणको महत्त्व निम्न रहेको छ :-
 
(क) व्यक्तिको व्यक्तित्व विकास गर्न 
(ख) सकारात्मक सोच र चिन्तनको व्यवहार सिकाउन 
(ग) सामाजिक सिपको विकास गरी व्यावहारिक ज्ञान प्राप्त गर्न 
(घ) अनुशासित, असल र गुणी हुन आधार प्रदान गर्न 
(ङ) प्रेम, सहयोग, सहकार्य, सहानुभूति, समानुभूति लगायतका मानवीय गुण र व्यवहार गर्न 
(च) सामाजिक मूल्य मान्यता, रीतिरिवाज र परम्पराको संरक्षण र संवर्धन गरी हस्तारन्तर गर्न 
(छ) समाजमा शान्ति, सद्भाव र सहअस्तित्व कायम गर्न।
 
 
३. प्रेम र स्नेहले सामाजिकीकरणमा कसरी सहयोग गर्छ, प्रष्ट पार्नुहोस् ।
 
उत्तर : सामाजिकीकरणका लागि मानिस मानिसका बिचमा विश्वास र अपनत्व आवश्यक पर्दछ । प्रेम र स्नेहले मानिस मानिसका बिचमा आत्मीयता प्रदान गर्दछ । यस्तो आत्मीयताले सद्भाव र सहकार्यका लागि आधारको काम गर्दछ । सद्भाव र सहकार्यले मानिसप्रति विश्वास बढाउँछ, अपनत्वको भावना विकास हुन्छ । मानिसलाई सामाजिक प्राणी बनाउन विश्वास र अपनत्व प्रदान गर्ने कार्य प्रेम र स्नेहले गर्दछ । यसरी प्रेम र स्नेहले सामाजिकीकरणमा सहयोग गर्छ ।
 
 
४. सामाजिकीकरणका माध्यम वा निकाय के के हुन्, तीमध्ये तपाईँका विचारमा सबैभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम कुन हो र किन ?
 
उत्तर : सामाजिकीकरणका माध्यम वा निकाय निम्न छन् :-
 
(क) घर परिवार (ख) विद्यालय (ग) दाँतरी समूह (घ) सांस्कृतिक गतिविधि (ङ) छिमेकी (च) स्थानीय सङ्घसंस्थाहरू (छ) सहकारी (ज) सञ्चारका साधन (झ) हाटबजार ।
 
यी मध्ये मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम घर परिवार हो । किनभने घर परिवार पहिलो पाठशाला हो । हरेक व्यक्तिको सिकाइको प्रारम्भ घर परिवारबाट सुरु हुन्छ । सामाजिकीकरणका लागि आवश्यक पर्ने भाषा, प्रेम र स्नेह, मूल्य मान्यता, सम्मान, सम्बन्ध जस्ता विभिन्न सामाजिक गुण सिक्ने र अभ्यास गर्ने प्रारम्भिक थलो घर परिवार हो ।
 
 
५. मानिस जैविक प्राणीबाट कसरी सामाजिक प्राणीमा रूपान्तरण हुन्छ ? उदाहरणसहित प्रष्ट पार्नुहोस् ।
 
उत्तर : मानिस जन्मँदा जैविक प्राणीका रूपमा मात्र रहेको हुन्छ । उसले घर परिवारमा रहेर भाषा, प्रेम, मूल्य, मान्यता, सम्मान, नातासम्बन्ध जस्ता विभिन्न सामाजिक गुण सिक्ने र अभ्यास गर्ने कामको प्रारम्भ गर्दछ । त्यसपछि ऊ छिमेकीसँग विस्तारै घुलमिल हुन थाल्छ । विद्यालय प्रवेशसँगै उसको सामाजिकीकरणले औपचारिकता प्राप्त गर्दछ । साथीभाइसँग खेल्ने, मिल्ने, सहयोग आदानप्रदान गर्ने जस्ता कार्यमा ऊ सहभागी बन्छ । घरपरिवार, छिमेक, समाज, विद्यालयले सञ्चालन गर्ने सांस्कृतिक गतिविधिमा सहभागी हुन्छ । हाटबजार जाँदा, मेलापात जाँदा उसले कोसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने लगायतका कुरा सिक्दछ र ऊ समाजमा सजिलै अन्तरघुलन हुन पुग्छ । यसरी मानिस जैविक प्राणीबाट सामाजिक प्राणीमा रूपान्तरण हुन्छ ।
 
 
६. तपाइँले आफ्नो घर छिमेकमा कस्ता सामाजिकीकरणका अभ्यास गर्नुभएको छ ? ती अभ्यासले सामाजिकपनको विकास गर्न कसरी मदत पुर्याएका छन्, लेख्नुहोस् ।
 
उत्तर : मैले आफ्नो घरमा एक अर्कालाई सम्मान गर्ने गरेको छु । सानालाई माया र ठुलालाई सम्मान गर्ने हाम्रो सामाजिक प्रचलन नै हो । यो कुरा मैले घरबाट अभ्यास गरेको हुँ । अहिले म मेरो समाजमा रहेका सबै साना व्यक्तिलाई माया गर्छु र ठुलालाई सम्मान गर्छु । यसले ममा सामाजिकपनको विकास गराएको छ । त्यस्तै मैले घर परिवार र छिमेकीबाट प्रेम र स्नेह सिकेको छु । यसले विश्वास र अपनत्व प्रदान गरेको छ । मर्दापर्दा एक अर्कालाई सहयोग गर्न, आपसी मतमतान्तर, विवादहरू अन्तरक्रिया र छलफलका माध्यमबाट समाधान गर्न पनि मैले घर र छिमेकबाट अभ्यास गरेको हुँ । घरले मलाई भाषा सिकाएको छ । छिमेकले भाषामा दक्ष बनाएको छ । यी सबै कुरालाई म विस्तारै मेरोबाट हाम्रो भन्न थालेको छु । घर परिवार र छिमेकबाट मैले गरेका सामाजिकीकरणका अभ्यासले सामाजिकपनको विकास गर्न मदत पुऱ्याएका छन् ।
 
सामुदायिक कार्य
 
छिमेकको कुनै एक घरका क्रियाकलाप अवलोकन गर्नुहोस् र तपाईँको परिवारमा भएका सामाजिकीकरणका अभ्याससँग तुलना गरी प्राप्त विवरण कक्षामा प्रस्तुत गर्नुहोस् । छिमेकीको एक घरका क्रियाकलाप अवलोकन गर्दा प्राप्त भएका सामाजिकीकरणका अभ्यास निम्न पाइयो :- 
 
(क) आफ्ना बालबालिकालाई भाषाको सिप सानैदेखि सिकाएको 
(ख) प्रेम, स्नेह र नाता सम्बन्धको बोध गराएको 
(ग) बालबालिकालाई विद्यालय भर्ना गराई नियमित विद्यालय पठाएको
(घ) सरसमान किन्न नजिकैको पसलमा पठाउने गरेको
(ङ) साथीसँग खेल्ने अवसर प्रदान गरेको मेरो परिवारमा भएका सामाजिकीकरणका अभ्यास निम्न रहेको छ :-
 
(क) भाषाको सिप, प्रेम, स्नेह, नाता सम्बन्धको बोध र अभ्यास गराएको, नियमित रूपमा आफन्त भेटघाट गर्दा बालबालिकालाई पनि सहभागी गराएको
(ख) गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयमा बालबालिकालाई भर्ना गराएको र विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा अनिवार्य सहभागी बनाएको 
(ग) मेला, हाटबजार नियमित लैजाने र सामान किन्न लगाउने अभ्यास गरेको 
(घ) सामाजिक कार्य, एक अर्कामा सहयोग गर्दा बालबालिकालाई साथमा लैजाने गरेको 
(ङ) साथीभाइसँग खेल्ने, अन्तरक्रिया गर्ने, दुःख पर्दा सहयोग गर्ने तरिकामा सहभागी गराउने गरेको ।
 

Post a Comment

0Comments
Post a Comment (0)