उपभोक्ता अधिकार | Class 10 social chapter 5 lesson 8 exercise

0

  

पाठ ८ उपभोक्ता अधिकार
 
 
१. उपभोक्ता अधिकार भनेको के हो ?
 
उत्तर : उपभोक्ताले आफूले प्रयोग गर्ने सामानको गुणस्तर तथा फाइदा जान्ने र गलत प्रयोगमा क्षतिपूर्ति पाउने वा बजारमा उपलब्ध सामानको निर्वाध रूपमा प्रयोग गर्न पाउने हकलाई उपभोक्ता अधिकार भनिन्छ ।
 
 
२. उपभोक्ता अधिकार सम्बन्धमा नेपालको संविधानमा भएको व्यवस्था उल्लेख गर्नुहोस् ।
 
उत्तर : उपभोक्ता अधिकार सम्बन्धमा नेपालको संविधान २०७२ मा धारा ४४ अन्तर्गत मौलिक हकका रूपमा उपभोक्ताको हकको व्यवस्था गरिएको छ । यस हकमा निम्न कुरा उल्लेख गरिएको छ :-
 
(क) प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने छ ।
(ख) गुणस्तरहीन वस्तु तथा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिक क्षतिपूर्ति पाउने हक हुने छ ।
 
 
३. उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्ता अधिकारसम्बन्धी गरेको व्यवस्था व्याख्या गर्नुहोस् ।
 
उत्तर : नेपालको संविधानको धारा ४४ मा मौलिक हकअन्तर्गत उपभोक्ताको हकको व्यवस्था गरिएको छ । यसमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो । यसमा भएको प्रावधानलाई कार्यान्वयन गर्न सकेमा उपभोक्ताको अधिकारको संरक्षण गर्न सकिन्छ ।
 
उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्तालाई वस्तु तथा सेवामा सहज पहुँचको अधिकार प्रत्याभूति गरेको छ। त्यस्तै प्रतिस्पर्धात्मक मूल्यमा वस्तु वा सेवा छनोट गर्न पाउने अधिकार प्रदान गरेको छ । वस्तु वा सेवा बारे सुसूचित हुन पाउने अधिकारसमेत यस ऐनले प्रदान गरेको छ । ऐनमा उपभोक्तालाई मिश्रित वस्तुमा रहेको तत्त्व वा प्रतिशतबारे जानकारी पाउने अधिकारका साथै उपभोक्ताको जिउज्यान, स्वास्थ्य तजथा सम्पत्तिमा हानि नोक्सानी पुऱ्याउने वस्तु वा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने र क्षतिपूर्तिको अधिकारको व्यवस्थासमेत गरिएको छ । अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापविरुद्ध उचित कानुनी कारबाही गराउन पाउनेलगायतको अधिकारको व्यवस्था पनि यस ऐनमा गरिएको छ।
 
यसप्रकार संवैधानिक रूपमा रहेको उपभोक्ताको हकलाई व्यावहारिक रूपमा कार्यान्वयन गरी उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न ल्याइएको उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएका व्यवस्थालाई कार्यान्वयन गर्न सबैको जिम्मेवारी रहन्छ ।
 
 
४. उपभोक्ता अधिकार संरक्षण र संवर्धनमा स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्ला ?
 
उत्तर : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारले उपभोक्ता अधिकारसम्बन्धी कानुनको कार्यान्वयन र नियमन गर्ने व्यवस्था गरेको छ । तसर्थ स्थानीय सरकारले उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएका प्रावधानलाई लागु गर्न महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । उपभोक्ता संरक्षण ऐनलाई कार्यान्वयन गर्ने गराउने र सोको अनुगमन गरी आवश्यक कारबाही गर्ने कार्यमा स्थानीय सरकारको भूमिका रहन्छ । उपभोक्तालाई सचेत बनाउने, बजारको अनुगमन गर्ने लगायतका कार्य नियमित रूपमा सञ्चालन गरी स्थानीय सरकारले उपभोक्तासम्बन्धी कानुनको कार्यान्वयन गराउने कार्य गर्नुपर्दछ ।
 
 
५. न्यून गुणस्तरीय सामग्री उत्पादन तथा बिक्रीवितरण रोक्न एक सचेत उपभोक्ताले खेल्न सक्ने भूमिका उल्लेख गर्नुहोस् । 
 
उत्तर : न्यून गुणस्तरीय सामग्री उत्पादन तथा बिक्रीवितरण रोक्न एक सचेत उपभोक्ताको निकै उपयोगी भूमिका रहेको हुन्छ । वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले जहिले पनि नाम, उत्पादन मिति, म्याद समाप्त हुने मिति, वस्तुको मिश्रणको अवस्था, मूल्य र तौल जस्ता कुरा हेरेर र बुझेर गुणस्तरीय भए मात्र खरिद गर्ने बानी बसाल्नुपर्छ । यदि गुणस्तरीय नभएमा सम्बन्धित निकायमा उजुरी गर्ने गर्नुपर्छ । सबै उपभोक्ता मिलेर सचेतना फैल्याउनुपर्छ । तसर्थ न्यून गुणस्तरीय सामग्री उत्पादन तथा बिक्रीवितरण रोक्न एक सचेत उपभोक्ताले निकै महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
 
 

Post a Comment

0Comments
Post a Comment (0)