पाठ ४ राजनीतिक दल
१. राजनीतिक दल भनेको के हो ?
उत्तर : निश्चित सिद्धान्त, मूल्यमान्यता र दर्शनमा आधारित रहेर राजनीतिक उद्देश्य प्राप्तिका लागि खोलिएको सङ्गठनलाई राजनीतिक दल भनिन्छ । राजनीतिक दल जनताको सङ्गठन हुन् । राजनीतिक दलको सार्थक उपस्थितिमा नै लोकतन्त्र सम्भव हुन्छ ।
२. लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको भूमिका प्रस्ट्याउनुहोस् ।
उत्तर : देशको शासन प्रक्रिया सञ्चालनमा राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । राजनीतिक दलहरूले प्रतिस्पर्धात्मक वातावरणमा जनताको मन जिती जनप्रतिनिधिका माध्यमबाट दलहरूले आफ्ना विचार, कार्यक्रम र व्यवहार सत्ताका माध्यमबाट लागु गर्छन् । प्रतिपक्षमा रहँदा पनि सरकारलाई रचनात्मक सहयोग गर्छन् । जनअपेक्षा सम्बोधन नगरे अर्को निर्वाचनमा जनताले अर्को राजनीतिक दललाई त्यो अवसर दिन्छन् । प्रत्येक आवधिक निर्वाचनमा सक्रिय सहभागिता जनाई लोकतन्त्रलाई संस्थागत गर्ने कार्यमा राजनीतिक दलको भूमिका निकै महत्त्वपूर्ण रहेको हुन्छ । मानव अधिकारको संरक्षण र सम्बर्धन, सामाजिक समस्या र विकृतिको न्यूनीकरण, विकास निर्माणका कार्यमा सहजीकरण, सुशासन कायम गर्ने, भ्रष्टाचार निर्मूल पार्ने कार्यमा सक्रिय सहभागिता जनाई लोकतन्त्र संस्थागत र सुदृढीकरण गर्न लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको भूमिका निकै महत्त्वपूर्ण हुन्छ ।
३. नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनमा राजनीतिक दलले खेलेको भूमिकाको विश्लेषण गर्नुहोस्।
उत्तर : नेपालमा विभिन्न समयमा विभिन्न किसिमका राजनीतिक परिवर्तन भए । ती परिवर्तनमा राजनीतिक दलले जनताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरे । वि.सं. २००७ मा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न प्रजा परिषद्, नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी जस्ता दलहरूको भूमिका निकै महत्त्वपूर्ण रह्यो । वि.सं. २०१५ मा प्रजातन्त्रलाई संस्थागत गर्नका लागि राजनीतिक दलहरूले निर्वाचनमा भाग लिए । वि. सं. २०१७ मा राजनीतिक दलहरू माथि प्रतिबन्ध लाग्यो । राजनीतिक दलहरूले यस कदमलाई अप्रजातान्त्रिक मानी विरोध र आन्दोलन गरे । वि.सं. २०४६ मा संयुक्त जनआन्दोलन भयो । यसै आन्दोलनको परिणामस्वरूप बहुदलीय शासन पद्धतिको पुनःस्थापना भयो । यसमा नेपाली काङ्ग्रेस, संयुक्त वाममोर्चा र संयुक्त जनआन्दोलन समन्वय समितिको महत्त्वपूर्ण भूमिका रह्यो ।
विभिन्न समयमा भएका निर्वाचनहरूमा राजनीतिक दलहरूले सक्रिय सहभागिता जनाई प्रजातन्त्रलाई संस्थागत गर्ने कार्यमा समेत भूमिका निर्वाह गरे ।
राजा ज्ञानेन्द्रको शासनकालमा पुनः राजनीतिक दलमाथि प्रतिबन्ध लाग्यो । तत्कालीन सात राजनीतिक दल र हिंसात्मक विद्रोह गरिरहेको माओवादीको संयुक्त प्रयासबाट वि.सं. २०६२, ६३ मा दोस्रो जनआन्दोलन सफल भयो । यसले देशमा लोकतन्त्रको स्थापना भई संविधान सभाको निर्वाचनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यसरी नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनमा राजनीतिक दलले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
४. राजनीतिक दल खोल्न आवश्यक प्रावधान उल्लेख गर्नुहोस् ।
उत्तर : राजनीतिक दल खोल्न आवश्यक प्रावधान निम्नलिखित छन् :-
(क) दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने (ख) कम्तीमा पाँच वर्षमा एक पटक सो दलको सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने (ग) दलका विभिन्न तहका समितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने (घ) राजनीतिक दलको विधान, घोषणापत्रको साथमा निवेदन दर्ता गराउनुपर्ने, साथै निम्नलिखित विवरण पनि खुलाउनुपर्ने : :-
राजनीतिक दलको नाम र त्यसको केन्द्रीय कार्यालयको ठेगाना, राजनीतिक दलको कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, राजनीतिक दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण, निर्वाचन आयोगले राखेका अन्य प्रावधानहरू पूरा गर्ने ।
५. राजनीतिक दलमाथि जनताको भरोसा अभिवृद्धि गर्ने उपाय सुझाउनुहोस् ।
उत्तर : राजनीतिक दलमाथि जनताको भरोसा अभिवृद्धि गर्ने उपाय :-
(क) आफ्नो दलको राजनीतिक सिद्धान्तअनुसार काम गर्ने
(ख) दलगत र व्यक्तिगत स्वार्थ त्यागी राष्ट्रिय स्वार्थका लागि काम गर्ने
(ग) कानुनी शासन स्थापना गरी सुशासन कायम गर्ने कुरालाई विशेष प्राथमिकता दिने
(घ) लोकतन्त्र एवम् मानवअधिकारको संरक्षण र सम्बर्धन गर्ने
(ङ) सामाजिक विकृति र समस्या निराकरणका लागि चेतना जागरण
गर्ने
(च) भ्रष्टाचार नियन्त्रण र विकास निर्माण कार्यमा सहजीकरण गर्ने
(छ) जनअपेक्षा र घोषणा पत्रअनुसार कार्य गर्ने ।
६. नेपालमा मान्यता प्राप्त राजनीतिक दलको सूची बनाउनुहोस् ।
उत्तर : नेपालमा मान्यता प्राप्त राजनीतिक दल :-
नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी