नेपाली लोकबाजा| class 10 social chapter 3 lesson 3 exercise

0

  

पाठ ३ : नेपाली लोकबाजा
 
 
१. लोकबाजाको परिचय दिनुहोस् ।
 
उत्तर : नेपालका विभिन्न भूभागमा बसोबास गर्ने जातजाति तथा समुदायमा प्रचलित मौलिक वाद्यवादनका साधनलाई लोकबाजा भनिन्छ । हाम्रो समाजमा प्रचलित तारले रेटेर बजाइने, मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई विभिन्न अवसरमा बजाइने यन्त्रविशेष वा वाद्यलाई नै लोकबाजा भनिन्छ । यिनीहरू हाम्रो समाजको सहनसहन, जन्म, विवाह, मृत्युसंस्कारका साथै चाडपर्व, जात्रा, उत्सव, महोत्सव, मेलापात आदिसँग गाँसिएर आउँछन् ।
 
 
२. नेपाली पञ्चेबाजा समूहमा पर्ने बाजाहरूको नाम र तिनीहरूको विशेषता लेख्नुहोस् ।
 
उत्तर : 
पञ्चेबाजाको नाम            विशेषता
 
क. नरसिङ्गा : तामाबाट बनाइने, लामो, ठुलो र घुमेको, फुकेर बजाइने ।
 
ख. सहनाई : पित्तलले बनेको, एकातिर सुकेको र अर्कोतिर फुकेको, फुकेर बजाइने ।
 
ग. झ्याली वा झुर्मा : काँसबाट बनाइने, दुईओटा प्लेट आकारका भागलाई डोरीले बाँधेर ठोकेर बजाइने । 
 
घ. दमाहा वा नगरा : तामा वा पित्तलबाट बनाइने अर्धगोलाकार, काठको लौरो प्रयोग गरी बजाइने । 
 
ङ. ट्याम्को : दमाहाभन्दा सानो आकारको हुने, गजाले हानेर बजाइने ।
 
 
३. नेपाली लोकबाजाको महत्त्व उल्लेख गर्नुहोस् ।
 
उत्तर : नेपाली लोकबाजाको महत्त्व निम्न छन् :-
 
(क) लोकबाजा देशका पहिचान हुन् ।
( ख ) मौलिक संस्कृतिलाई जोगाउने काम गर्छ ।
(ग) जाति तथा समुदायलाई चिनाउने काम गर्छ ।
(घ) मनोरञ्जन प्रदान गर्छ ।
(ङ) लोकगीतको संरक्षण गर्छ ।
(च) व्यावसायिक बनाई आयआर्जन गर्न सकिन्छ ।
(छ) शारीरिक एवम् मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न मदत गर्छ ।
 
 
४. “नेपाली लोकबाजा नेपालीहरूको पहिचान हो ।" यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
 
उत्तर : हाम्रो देशमा अनेकौँ सांस्कृतिक वैभव छन् । ती वैभवमध्ये लोकबाजा गौरव गर्न लायक सम्पत्ति हुन् । यिनीहरू नेपाली समाजको सहनसहन, जन्म, विवाह र मृत्युसंस्कारका साथै चाडपर्व, जात्रा, उत्सव, महोत्सव, मेलापात आदिसँग गाँसिएर आउँछन् । नेपाली समाजको मौलिक सभ्यता र संस्कृतिको शङखनाद गर्ने पहिचानसमेत हुन् हाम्रा लोकबाजा । लोकबाजा मौलिक लोकसंस्कृतिको अभिन्न अङ्ग हो । नेपाली लोकजीवनको धुकधुकी हो । नेपाली लोकबाजामा नेपाली जीवनको पिर र व्यथा बोलेको हुन्छ, आँसु रसाएको हुन्छ र हाँसो पनि मुस्कुराएको हुन्छ । लोकबाजामा हाम्रा गौरवशाली पुर्खालाई देख्न र सुन्न सकिन्छ । हाम्रा कुनै पनि धार्मिक तथा सामाजिक संस्कार साङ्गीतिक अनुष्ठानबिना अधुरा रहन्छन् । तसर्थ नेपाली लोकबाजा नेपालीहरूको पहिचान हो, चिनाउने आधार हो ।
 

Post a Comment

0Comments
Post a Comment (0)