दिगो विकास | Class 10 social chapter 2 lesson 2 दिगो विकास Sustainable development exercise

0

  

पाठ २ : दिगो विकास
 
 
१. दिगो विकासको अवधारणा प्रष्ट पार्नुहोस् ।
 
उत्तर : दिगो विकासको अवधारणा मूलतः वातावरण संरक्षण र विकास निर्माणमा प्रत्यक्ष रूपमा सन्तुलन खोज्ने अवधारणा हो । यसले पृथ्वीले वहन गर्न सक्ने अर्थात् धान्न सक्ने र निरन्तर लाभ प्राप्त भइरहने विकासलाई बुझाउँछ । यति मात्र नभई यसले एक क्षेत्रको विकास गर्दा अर्को क्षेत्रको वातावरणीय पक्षमा समेत क्षय हुन नदिने गरी गरिने विकासलाई समेत जनाउँछ । तसर्थ भावी पुस्ताका आवश्यकतालाई मध्यनजर राख्दै वर्तमान पिँढीका आवश्यकतालाई परिपूर्ति गर्ने विकास नै दिगो विकास हो । संयुक्त राष्ट्रसङ्घको ४२ औँ साधारण सभा सन् १९८७ पछि यो अवधारणा विश्वव्यापी बनेको हो ।
 
 
२. “अव्यवस्थित विकासले विनाश निम्त्याउँछ ।" पुष्टि गर्नुहोस् ।
 
उत्तर : हामीले प्रकृतिको संरक्षण गर्न सक्यौं भने मात्र हाम्रो अस्तित्व रहन्छ । वातावरणको संरक्षणले स्वस्थ र दीर्घायु बन्न सकिन्छ । जैविक विविधता र पारिस्थितिक प्रणालीको संरक्षण गर्न सके पृथ्वीको रक्षा गर्न सकिन्छ । पृथ्वीको तापक्रम वृद्धि रोक्न सकिन्छ । विकास गर्ने बाहनामा जथाभावी वनजङ्गल विनाश गर्नु भनेको वातावरण नाश गर्नु हो । विकास गर्दा अहिलेको आवश्यकता सँगसँगै भावी पुस्ताका आवश्यकतालाई पनि असर पार्नु हुँदैन । बाटो बनाउने नाममा जथाभावी वन मास्ने, जथाभावी डाँडापाखामा डोजर चलाउने कार्यले विकासका नाममा विनाश निम्त्याउँछ । बाढी, पहिरो, भूक्षय, अतिवृष्टि, खण्डवृष्टि, तापक्रममा वृद्धि जस्ता विविध समस्या निम्त्याउँछ । तसर्थ अव्यवस्थित विकासले विनाश निम्त्याउँछ ।
 
 
३. दिगो विकासका लागि तपाईं कसरी योगदान दिन सक्नुहुन्छ ?
 
उत्तर : दिगो विकासका लागि म निम्न कार्य गरेर योगदान दिन सक्छु :-
 
- दिगो विकासको आवश्यकता र महत्त्व सम्बन्धमा जनचेतना फैलाउने
- आफ्नो समुदायमा भएका विकास निर्माण कार्य दिगो विकासको अवधारणाअनुरूप भए नभएको खोजी गर्ने
- विकास निर्माणसम्बन्धी छलफलमा सहभागी बन्ने र दिगो विकासको अवधारणालाई उच्च प्राथमिकता दिन सुझाउने 
- सामाजिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको संरक्षणमा आवश्यक सहयोग गर्ने ।
 
 
४. दिगो विकासका उद्देश्यहरूको सूची तयार पार्नुहोस् ।
 
उत्तर : दिगो विकासको उद्देश्यहरू :-
 
(क) गरिबी निवारणमा सहयोग पुऱ्याउने र सामाजिक समृद्धि हासिल गर्ने
(ख) मानवीय विकास र प्रगति गरी त्यसको सबलीकरण गर्ने
(ग) वातावरणको प्रभावकारी संरक्षण गर्ने 
(घ) प्राकृतिक स्रोत र साधनको विवेकपूर्ण र सावधानीका साथ उपयोग गर्ने 
(ङ) उच्च, स्थिर, फराकिलो र दिगो आर्थिक वृद्धि र विकास हासिल गर्ने 
(च) सुशासन, सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्ने 
(छ) सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने ।
 

Post a Comment

0Comments
Post a Comment (0)