पाठ ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार
१. भ्रष्टाचारको परिभाषा दिनुहोस् ।
उत्तर : शक्ति र पदका आडमा अधिकारको दुरुपयोग गरी अनुचित कार्यबाट आर्थिक तथा अन्य लाभ प्राप्त गर्नुलाई भ्रष्टाचार भनिन्छ ।
२. “भ्रष्टाचार एक प्रकारको सामाजिक अपराध हो ।" यस भनाइलाई उपयुक्त तथ्यसहित प्रष्ट पार्नुहोस् ।
उत्तर : भ्रष्टाचार विश्वव्यापी रूपमा रहेको एक सामाजिक समस्या हो । विकाशील र अल्पविकसित देशहरू यस समस्याबाट बढी प्रभावित रहेका छन् । यसबाट सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन गई राष्ट्र वा समाजलाई हानी नोक्सानी पुग्छ । विकासमा गतिरोध सिर्जना हुन्छ । बेलैमा नियन्त्रण गर्न नसके यसले देश र समाजको विकासमा अवरोध ल्याउँछ । भ्रष्टाचार व्याप्त भएका सुशासन कायम हुन सक्दैन । जनताले प्रभावकारी ढङ्गबाट सेवा सुविधा पाउँदैनन् । देशको सामाजिक, सांस्कृतिक एवम् आर्थिक पक्षको विकास गरी समृद्ध र सुखी बनाउन सकिँदैन । तसर्थ भ्रष्टाचार एक प्रकारको सामाजिक अपराध हो ।
३. भ्रष्टाचारबाट समाजमा देखापर्ने समस्याहरू बुँदागत रूपमा टिपोट गरी समाधानका लागि उपयुक्त सुझाव दिनुहोस् ।
उत्तर : भ्रष्टाचारबाट समाजमा देखापर्ने समस्याहरू :-
(क) पहुँच भएका र पैसावालाहरूको मात्र रजाइँ हुने
(ख) विकास निर्माणमा गतिरोध कायम हुने
(ग) सार्वजनिक सम्पत्तिको दुरुपयोग बढ्ने
(घ) समाज आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा पछि पर्ने
(ङ) सुशासनको प्रत्याभूति नहुने
(च) समाजलाई समृद्ध र सुखी बनाउन नसकिने
(छ) फजुल खर्च र अनावश्यक देखासिकी बढ्ने
४. सार्क राष्ट्रहरूमा भ्रष्टाचारको अवस्था कस्तो छ ? तुलनात्मक रूपमा विश्लेषण गर्नुहोस् ।
उत्तर : सार्क राष्ट्रहरूमा भुटान, भारत, मालदिभ्स, श्रीलङ्का, नेपाल पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान गरी आठओटा मुलुक रहेका छन् । यी देशमध्ये ६८ अङ्क र २५ औँ स्थानसहित भुटान सार्क राष्ट्रमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा पर्दछ । त्यसै गरी विश्वका १८० राष्ट्रमध्ये १५० औँ स्थानमा रहेको अफगानिस्तानको २४ अङ्क रहेको छ, यो सार्क राष्ट्रमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा पर्दछ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२३ मा निकालेको भ्रष्टाचारसम्बन्धी तथ्याङ्कमा भुटानबाहेकका सार्क राष्ट्रहरूमा भ्रष्टाचारको अवस्था निकै उच्च रहेको देखाएको छ। नेपाललगायतका राष्ट्रहरू धेरै भ्रष्टाचार हुने मुलुकमा पर्दछन् ।