१. उज्यालो यात्रा (कविता)
शब्दभण्डार
१. दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस् :
उत्तर :
(क) मनमा उत्पन्न हुने भाव वा विचार : भावना
(ख) श्रीखण्ड घोटेर बनाइएको लेप : चन्दन
(ग) गौरवले भरिएको : सगौरव
(घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम : त्याग
(ङ) सबैभन्दा उच्च वा अग्लो : सर्वोच्च
२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् :
गाई मानिसले पाल्ने घरपालुवा जनावर हो । यो चौपाया वर्गभित्र पर्छ । मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ । शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ । दुग्ध र दुग्धजन्य पदार्थ विक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् । गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ ।
जनावर - चौपाया
पोसिलो - तागतिला
उपार्जन - आम्दानी
३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्
प्रेम - माया
शक्ति - तागत
धर्ती - धरणी
कर्म - काम
जिन्दगी - जीवन
शिर - टाउको
राम्रो - सुन्दर
महान् - उच्च
हावा - पवन
आकाश - नभ
नयन - आँखा
४. 'उज्यालो यात्रा' कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस् :
निम्न - उच्च
दुःखी - सुखी
अज्ञान - ज्ञान
सम्भव - असम्भव
आफ्नो - अरु
अन्याय - न्याय
५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् :
उदाहरण : धारिलो - भुत्ते, धेरै - थोरे
माथि - तल (घरमाथि डाँडा छ । खेतको तल खोल्सो छ ।)
उज्यालो - अँध्यारो (झ्याल खोले उज्यालो हुन्छ झ्याल लगाए अँध्यारो हुन्छ ।)
शिर - पाउ (रियाजले शिरमा ढाकाटोपी लगाएको छ भने पाउमा जुत्ता लगाएको छ ।
जित - हार (फुटवल खेलमा हाम्रो जित भयो । हिम्मतसाथ खेलियो भने हार कहिले हुँदैन ।)
न्याय - अन्याय (न्यायको लागि हामी हर्दम लड्नु पर्छ । अन्यायमा पर्दा चुपलागेर बस्नु हुँदैन ।)
बोध र अभिव्यक्ति
४. दिइएको अनुच्छेद पढी अनुष्टुप छन्दबारे साथीबिच छलफल गर्नुहोस् :
अनुष्टुप छन्दका चार पाउ हुन्छन् । यसका प्रत्येक पाउमा आठ अक्षर हुन्छन् । यस छन्दमा हरेक श्लोकको प्रत्येक पाउको पाँचौं अक्षर लघु (ह्रस्व) हुन्छ र छैटौं अक्षर गुरु (दीर्घ) हुन्छ । पहिलो र तेस्रो पाउको सातौं अक्षर गुरु अनि दोस्रो र चौथो पाउको सातौँ अक्षर लघु (स्व) हुन्छ यसरी प्रत्येक पाउमा सातौं अक्षर क्रमशः गुरु लघु बनिरहन्छ अर्थात् पहिलो पाउमा गुरु, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरु र चौथो पाउमा लघु हुन्छ । प्रत्येक आठौँ वर्णपछि यति वा विश्राम हुन्छ ।
५. 'उज्यालो यात्रा' कविताबाट लेखन र उच्चारण फरक हुने कुनै पाँचओटा शब्द टिपी तिनको शुद्ध उच्चारण गर्नुहोस् ।
विश्व, जीवन, संसार, कविता, जसका
६. उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस् ।
उदाहरण : चन्दन - नन्दन
असम्भव - सब, सुखी - खुसी, सौरभ - गौरव, भरी - छरी, मनोहर - सुन्दर, खातिर - शिर
७. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जसका भावना हाँस्छन्, मनमा रागिनी भरी जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।
(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस् ।
जसका भावना हाँस्छन्,
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन
रातमा चाँदनी छरी ।
(आ) कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस् ।
भावना, रागिनी, जिन्दगी, चाँदनी
(इ) कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस् ।
भावना, रागिनी, जिन्दगी, चाँदनी
(ई) कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस् ।
हाँ, भ, बाँ, छ
८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।
(क) धर्तीलाई केले मनोहर बनाएको छ ?
उत्तर : ज्ञान र कर्ममा जुटेका मानिसहरुको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको छ ।
(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?
उत्तर : कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरुले कर्म गरेर समाज र देशलाई पनि सुन्दर बनाउँछन् ।
(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ ?
उत्तर : कवितांशमा जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरुको शिर उचो हुन्छ भनिएको छ ।
(घ) कवितांशबाट के सन्देश पाइन्छ ?
उत्तर : हामी ज्ञान र कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ । सधैँ न्यायखातिर आवाज उठाउनुपर्छ । यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ ।
९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् ।
(क) 'उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस् ।
हामीले जीवनमा निरन्तर मिहिनेत र परिश्रम गरिरहनु पर्छ अथक मिहिनेतबाट नै जङ्गल स्वर्गको बगैंचा जस्तो सुन्दर बन्न सक्छ । दाउरोलाई सयौंपल्ट घोटेर चन्दन बनाउन सकिन्छ । मनमा यो काम गरेरै छाड्ने छ भन्ने अठोट छ भने यो संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । यो संसारमा जति पनि महान् मानिसहरु छन्, उनीहरु सबै दृढ अठोटका कारण महान् भएका हुन् । त्यसैले हामीहरु पनि मनमा अठोट लिएर निरन्तर मिहिनेत गर्यौँ भने अवश्य महान् बन्न सकिन्छ ।
(ख) जीवन सार्थक पार्न के के गर्नुपर्छ ?
जीवन सार्थक पार्न हामीले मनमा अठोट लिएर निरन्तर सङ्घर्ष गर्नुपर्छ । कर्म गर्ने मान्छेको जीवन सुखी हुन्छ । मनबाट इर्ष्याद्वेष हटाएर राष्ट्रका लागि काम गर्नुपर्छ । अन्यायका विरुद्ध आवाज बुलन्द गर्नुपर्छ । यसरी लोभलालच नगरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र धर्ती सजाउने काममा लाग्यो भने जीवन सार्थक बनाउन सकिन्छ ।
(ग) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?
उत्तर : कवितामा कविले लोभलालच र व्यक्तिगत स्वार्थ त्यागेर कर्मको यात्रामा तल्लीन हुन चाहेका छन् । चन्द्रसूर्य जस्तै बनेर अरुलाई उज्यालो किरण दिन चाहन्छन् । आफ्नै पौरखले जीवनको वाटो खन्न खोजेका छन् । यसरी कवि एउटा महान् मानिस बनेर अरुको सेवा गर्ने आदर्श जीवन यात्राको कल्पना गरेका छन् ।
(घ) 'उज्यालो यात्रा' कविताको मूल भाव के हो ?
हामीले मनमा अठोट लिएर निरन्तर सङ्घर्ष गर्नुपर्छ । कर्म गर्ने मान्छेको जीवन सुखी हुन्छ । मनबाट इर्ष्याद्वेष हटाएर राष्ट्रका लागि काम गर्नुपर्छ । ज्ञान र कर्मले हाम्रो धर्ती सजाउनुपर्छ । अन्यायका विरुद्ध आवाज उठाउनुपर्छ । हामी चन्द्रसूर्य बनेर धर्तीको अन्धकारलाई हटाउनुपर्छ । यसरी असल कर्म गरेर हामी महान् मानिस बन्न सक्नुपर्छ भन्नु नै यो कविताको मूल भाव हो ।
११.
(क) भाव विस्तार गर्नुहोस् :
ईर्ष्याद्वेष हटाएर जो प्रेम छर्छन् सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
प्रस्तुत कवितांश 'उज्यालो यात्रा' कविताबाट साभार गरिएको हो । यस कविताका लेखक नेपाली साहित्यका प्रसिद्ध कवि रामप्रसाद ज्ञवाली हुन् । यस कवितामा कविले असल मानिस बनेर धर्ती सजाउनुपर्छ भन्ने भाव प्रस्तुत गरेका छन् ।
महान् मानिस बन्न ईर्ष्याद्वेष जस्ता खराब आचरण त्याग्नुपर्छ भन्ने बुझाउने सन्दर्भमा प्रस्तुत कवितांश आएको हो । ईर्ष्याद्वेष हाम्रा शत्रु हुन् । हाम्रो सुखका बाधक हुन् । यति मात्र नभएर समाजको उन्नतिका पनि बाधक हुन् । अरुको डाह गरेर र मनमा शत्रुताको भावना राखेर हामी कहिल्यै असल मान्छे बन्न सक्दैनौं । गौतम बुद्ध जसले ईर्ष्या द्वेष कहिलै मनमा राखेनन्, विश्वमा शान्तिको सन्देश फैलाए अनि विश्वले गौरव गर्न लायक मान्छे कहलाए। मनमा ईर्ष्या र द्वेष पाल्ने मान्छेले आफ्नै आमालाई पनि सही देख्न सक्दैन । मनमा सफा भयो भने हामी, प्रेमको सुवास छर्न सक्छौं । आफू खुसी रहेर अरुलाई पनि खुसी बनाउन सक्छौँ । आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त नभएर प्रेम बाँड्ने मान्छेहरू विश्वकै गौरव भएर रहन सक्छन् । हामीले पनि मनबाट द्वेष हटाउनुपर्छ र मानव कल्याणका लागि अग्रसर हुनुपर्छ ।
यसरी अनुष्टुप छन्दमा लेखिएको यस कवितांशमा हामीलाई सत्मार्गमा लाग्न आग्रह गरिएको छ । प्रेमको सुवास बाँड्ने मान्छे नै विश्वका निम्ति गौरव हुने कुरा स्पष्ट पार्दै यही बाटोमा सबैलाई डोऱ्याउन खोजिएको छ ।
(ख) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।
प्रस्तुत कवितांश 'उज्यालो यात्रा' कविताबाट साभार गरिएको हो । यस कविताका लेखक वरिष्ठ साहित्यकार कवि रामप्रसाद ज्ञवाली हुन् । यस कवितामा हामीलाई असल काममा लाग्न प्रेरित गरिएको छ । राम्रो काम गर्ने मान्छे आदर्श मान्छे बन्ने सन्दर्भ बुझाउने क्रममा प्रस्तुत कवितांश आएको हो ।
मानिस कर्मले महान् बन्छन् । कुर्मले यो धर्ती सुन्दर बनाउन सकिन्छ । कर्मले जङ्गल नन्दन बनाउन सकिन्छ । सयौंपल्ट कुदेर ढुङ्गा मूर्ति बन्छ । मान्छेले कर्म नगरी अल्छी गरेर बसेको भए हामी ढुङ्गे युगमै हुन्थ्यौं । हाम्रा अग्रजहरुका महान् कर्मले नै हामीले यो सुन्दर संसार पाएका छौं । कर्मले पहाड फोडिएका छन्, कर्मले मूरुभूमिमा उब्जनी भएको छ । पृथ्वीनारायण शाह कर्मले महान् आदर्श राजा बने । डा. सन्दुक रुइत कर्मले आदर्श व्यक्ति बन्दै छन् । अझ निरन्तरको असल कर्मले मान्छेलाई भगवान् बनाउँछ । कर्मको यात्रामा लागेर समाज हितमा लागेका मान्छेहरू मरेर पनि अमर छन् । एउटा विद्यार्थीलाई पनि असल कर्मले सबैको प्रिय, असल र सफल बनाउँछ । कर्म नगरी ज्ञान पनि मिल्दैन । त्यसैले हामी सबै कर्मको कलमले नै हाम्रो भविष्य निर्माण गर्न सक्छौं ।
यसरी मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी अनुष्टुप छन्दमा लेखिएको कवितांशमा हामी पनि असल कर्महरु गरेर समाजको आदर्श व्यक्ति बन्नुपर्छ भन्ने भाव स्पष्ट पार्न खोजिएको छ ।
१२. कर्मशील बन्न कसरी सकिन्छ, 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस् ।
प्रसिद्ध छन्दवादी कवि तथा समालोचक रामप्रसाद ज्ञवालीद्वारा लिखित 'उज्यालो यात्रा' कविता उनको उत्कृष्ट नीति चेतनामूलक कविता हो । यस कवितामा कविले सत्मार्गले मान्छेलाई महान् बनाउने कुरा स्पष्ट पार्न खोजेका छन् र कविताका माध्यमबाट हामी सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरेका छन् ।
परिश्रम गर्नु तथा मिहिनेती बन्नु नै कर्मशील बन्नु हो । कर्मबाट नै सम्भावनाका ढोकाहरु खुल्दै जान्छन् । कविका अनुसार कर्मशील बन्न हामीले मनमा उच्च सङ्कल्प लिनुपर्छ । मनमा उच्च अठोट लिएर काम गरिन्छ भने त्यो काम अवश्य सफल हुन्छ । हामी आफ्नो भर आफै पर्नुपर्छ । हामी परनिर्भर होइन आत्मनिर्भर बन्नुपर्छ । अरुसँग माग्ने होइन बरु अरुलाई दिन सक्ने हुनुपर्छ । मनमा सकारात्मक विचार र उदार भावना हुनुपर्छ । ईर्ष्याद्वेष राख्नुहुँदैन । सबैलाई प्रेम गर्नुपर्छ । प्रेमको सुवास छर्नुपर्छ । हामी अल्छी नबनी निरन्तर कर्मको यात्रामा लाग्नुपर्छ । बाधा अड्चनहरू आउँदा निराश बनेर पछाडि हट्नुहुँदैन । हाम्रो ज्ञान परोपकार, समाजको उन्नति र देशको विकासमा खर्चिनुपर्छ । देश निर्माण गर्ने हाम्रो कर्म हुनुपर्छ । हामी सधैँ न्यायका खातिर समर्पित हुनुपर्छ । अन्याय, अत्याचार, शोषण सहेर बस्नुहुँदैन । मनमा लोभलालच राख्नुहुँदैन । आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र समाजको उन्नतिका लागि त्याग गर्नुपर्छ । सधैं आदर्श मान्छे बन्ने लक्ष्य राखेर महान् कर्ममा खटिनुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि हामी चन्द्रसूर्य जस्तै अटल हुनुपर्छ । आफ्नो बाटो आफ्नै पौरखले खन्नुपर्छ ।
यसरी कवि ज्ञवालीले केही तत्सम शब्द, सरल र मिठासपूर्ण भाषाशैली साथै अनुष्टुप छन्दको प्रयोग गरी लेखेको यो कविता उत्कृष्ट चेतनामूलक कविता बनेको छ । हामी सबैलाई परोपकारी बन्न प्रेरित गरिएको छ । समग्रमा कर्मशील बनेर धर्ती सजाउनुपर्छ भन्ने भाव कवितामा व्यक्त भएको पाइन्छ ।
१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस् ।
'उज्यालो यात्रा' कविता कवि रामप्रसाद ज्ञवालीले लेखेका हुन् । यस कवितामा सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरिएको छ । कविले अन्तिम श्लोकमा आफू आत्मनिर्भर बन्ने अनुमान गरेका छन् । उनी आफ्नो जिन्दगीको बाटो आफ्नै पौरखले खन्न चाहन्छन् । उनी अरुको अधीन र आड भरोसामा निर्भर परजीवी जस्तो बन्न चाहँदैनन् । उनी सर्वोच्च व्यक्ति बन्न चाहन्छन् । सर्वोच्च कविता लेख्न चाहन्छन् । यसरी कविले आफू कर्मशील, असल र सफल बन्ने अनुमान गरेका छन् ।
१४. दिइएका विषयमा साथीबिच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् :
(क) परिश्रमको फल मिठो हुन्छ ।
(ख) मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो ।
१५. दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) प्रश्नहरु :
(अ) गुरुकुल भनेको के हो ?
गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो ।
(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?
गुरुकुलमा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो ।
(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?
गुरुकुलमा निश्चित समयमा विद्यालय आएर पढ्ने समय तालिका हुँदैनथ्यो त्यसैले जुनसुकै बेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो ।
(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?
समस्या दिएर गुरुले गोप्य रूपले शिष्यलाई नियालिरहेका हुन्थे । त्यो परीक्षा पूरा गर्न सकेमा शिष्य दीक्षित हुन्थे ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् ।
(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक एकओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस् ।
गुरुकुल - नाम
आवासीय - विशेषण
हो - क्रियापद
(आ) 'पढ्' धातुबाट एक एक ओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस् ।
पढ्नु (नाम) पढेर (क्रियायोगी)
(इ) अनुच्छेदबाट सुरु बिच र अन्तिममा हस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस् ।
सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द : विद्यार्थी, शिक्षा, पितृ,
बिचमा ह्रस्व इकार प्रयोग भएका शब्द : अहिले, निश्चित, तालिका
अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द : कोटि, पनि, अति ।